एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा प्रसारण लाइन पूर्वाधार निर्माणको शिलान्यास – Sagarmathapana:: Online News Portal

एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा प्रसारण लाइन पूर्वाधार निर्माणको शिलान्यास

   २०८३ जेष्ठ २७ गते  

काठमाडौं।नेपालस्थित अमेरिकी दूतावास, नेपाल सरकारका अधिकारीहरू, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा नुवाकोटको रातमाटेमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने महत्वपूर्ण विद्युत् प्रसारण पूर्वाधारको बुधबार शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले उक्त परियोजनाले नेपालको ऊर्जा क्षेत्रको भविष्यलाई बलियो बनाउने बताएका छन्। उनले कम्प्याक्टमार्फत नेपालको ऊर्जा पूर्वाधारको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो विद्युत् सेवा देशभरि र सीमापारसम्म विस्तार हुने बताए।


उनका अनुसार परियोजनाले घरपरिवारलाई नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्नुका साथै उद्योग, कृषि तथा व्यवसाय क्षेत्रलाई स्थिर ऊर्जा उपलब्ध गराएर उत्पादन र आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ। साथै, नेपाललाई स्वच्छ जलविद्युत् छिमेकी मुलुकहरूमा निर्यात गर्ने अवसर प्रदान गर्ने र त्यसबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता विकासमा लगानी गर्न सकिने उनले बताए।

“कम्प्याक्ट कार्यान्वयनको सफलता सबै पक्षबीचको निरन्तर सहकार्यमा निर्भर रहनेछ,” अर्बमले कार्यक्रममा भने।


एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेको यो प्रसारण पूर्वाधारलाई नेपालको ऊर्जा सुरक्षा, विद्युत् व्यापार विस्तार तथा आर्थिक विकासका लागि महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ।

यस अवसरमा सहभागीहरूले परियोजनाले नेपालको विद्युत् प्रसारण प्रणालीलाई आधुनिक, भरपर्दो र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

यो कार्यक्रम नेपाल र अमेरिकाबीचको दीर्घकालीन साझेदारी तथा नेपालको पूर्वाधार विकास यात्रामा एक महत्वपूर्ण उपलब्धिका रूपमा समेत रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै