टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न, विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं।विश्वव्यापी रूपमा लोकप्रिय नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
देशका विभिन्न पाँच सहर तथा भारतबाट आएका सयौं प्रतिस्पर्धीमध्ये अडिसन र विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रतिभाहरू फिनालेमा पुगेका थिए। फिनालेमा सहभागी नृत्यकारहरूले आकर्षक र उच्चस्तरीय प्रस्तुति दिँदा दर्शक तथा निर्णायकहरू प्रभावित बनेका थिए।


प्रतियोगिताको जुनियर डिभिजनतर्फ रिधि सरकारले उपाधि जितिन्। ‘पप इन स्माइली’ दोस्रो तथा दीपेश र ऋषि तेस्रो भए। जुनियर टिम डिभिजनमा ‘क्रिएटर्स क्रु’ प्रथम, ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो स्थानमा रहे।
त्यसैगरी, अपर डिभिजनतर्फ साजन पाख्रिन विजेता बने भने साजन गुरुङ दोस्रो र ‘स्टार्स स्टेपर्स क्रु’ तेस्रो स्थानमा रहे। अपर टिम डिभिजनको उपाधि ‘टिम एनटी’ले जित्यो। उक्त विधामा ‘इन्नेट सोल्स’ दोस्रो तथा ‘एस स्क्वायर फ्यामिली’ तेस्रो घोषित भए।


आयोजकका अनुसार प्रत्येक डिभिजनका विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कारका साथै २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेताहरूले आगामी दिनमा अमेरिका, थाइल्यान्ड र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘वर्ल्ड अफ डान्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन्।
आयोजकले ‘वर्ल्ड अफ डान्स नेपाल’ले नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्यका साथ निरन्तर काम गरिरहेको जनाएको छ।













