३३ बुँदे प्रतिबद्धतासहित हर्क साम्पाङको सरकारलाई कडा सन्देश – Sagarmathapana:: Online News Portal

३३ बुँदे प्रतिबद्धतासहित हर्क साम्पाङको सरकारलाई कडा सन्देश

   २०८३ बैशाख ९ गते  

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष साम्पाङले परराष्ट्र नीति, शिक्षा, श्रम तथा आर्थिक विकासका क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले प्रस्तुत गरेको प्रस्तावको मुख्य प्राथमिकतामा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकता रहेको छ। एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिसँग जोडिन सक्ने सम्झौताहरू खारेज गर्नुपर्ने र देशलाई विदेशी हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा उनले जोड दिएका छन्। साथै सीमा सुरक्षाका लागि आवश्यक परे सेना परिचालन गर्नुपर्ने तथा छिमेकी मुलुकसँगका सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको धारणा छ।

शिक्षा क्षेत्र सुधारका लागि साम्पाङले ‘किताबी ज्ञान मात्र शिक्षा होइन’ भन्ने अवधारणा अघि सारेका छन्। उनका अनुसार हप्तामा तीन दिन मात्र कक्षाकोठा केन्द्रित अध्ययन र बाँकी चार दिन श्रम, सीप, सिर्जना तथा आविष्कारमा केन्द्रित शिक्षण पद्धति लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। कृषि क्षेत्रलाई व्यवहारिक रूपमा किसानसम्म पुर्‍याउन र ‘एक पालिका, एक उद्योग’ तथा ‘एक परिवार, एक रोजगार’ नीति कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, विकास मोडेलबारे टिप्पणी गर्दै उनले काठमाडौँ केन्द्रित विकासको अन्त्य गरी सङ्घीयताको मर्मअनुसार गाउँ तथा सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। वैदेशिक ऋण र अनुदानमा निर्भरता घटाउँदै स्वदेशी स्रोत र जनशक्तिको परिचालनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा उनले कडा धारणा राख्दै कामचोर तथा भ्रष्ट कर्मचारीलाई सरुवा मात्र होइन, सिधै बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

साथै, सहकारी ठगी प्रकरणका आरोपितहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न तथा पीडितको रकम ठगहरूको सम्पत्ति लिलाम गरेर फिर्ता गराउन सरकारसँग उनले आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै