गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब, पदबाट हटाउन सरकारसँग आग्रह
काठमाडौं।जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने खतरा औंल्याइएको छ। वक्तव्यमा भनिएको छ— आफ्नैविरुद्ध छानबिन भइरहँदा पदमा रहनु स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हो र यसले न्यायिक प्रक्रियामाथि प्रश्न उठाउँछ।
जेनजी मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गर्दै सरकारलाई जिम्मेवार निर्णय लिन आग्रह गरेको छ। साथै, मन्त्री नियुक्ति र बर्खास्तीलाई “कच्चा राजनीतिक खेल” नबनाउन चेतावनी दिँदै नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्ने उल्लेख गरिएको छ।
वक्तव्यमा बालेन्द्र शाह नेतृत्वको सरकारप्रति संकेत गर्दै भनिएको छ, “यो साधारण सरकार होइन, यो शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो।” जनताको त्यागमाथि सस्तो राजनीति गर्न नहुने पनि मुभमेन्टले स्पष्ट पारेको छ।
यसैबीच, विवादास्पद व्यवसायी दीपक भट्टसँग गुरुङको सम्भावित साझेदारी र Laxmi Sunrise Bankसँग जोडिएका विषयहरू सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ थप विवादमा तानिएका छन्।
मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनी दिँदै छानबिन प्रक्रिया छिटो र निष्पक्ष रूपमा अघि बढाउन सरकारलाई दबाब दिएको छ।












