विद्यालय शिक्षामा अन्योल चिर्न ‘प्यानल डिस्कसन’— निजी क्षेत्र, अभिभावक र नीतिनिर्माताबीच खुला बहस
काठमाडौं-पछिल्लो समय विद्यालय शिक्षामा देखिएको अन्योल, नीतिगत अस्पष्टता र सुधारका चुनौतीबारे गहन छलफलसहित एक महत्वपूर्ण प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ। कलेज रिडर्सको आयोजनामा “School Education: Challenges and Probable Way Forward” शीर्षकमा आयोजित उक्त कार्यक्रम वैशाख ६ गते काठमाडौंको धोबिधारास्थित कुमारी हल, इस्लिङ्टन कलेजमा सम्पन्न भएको हो।


कार्यक्रम HISSAN, PABSON र N-PABSAN सँगको सहकार्यमा आयोजना गरिएको थियो। पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा भइरहेका नीतिगत परिवर्तन, निजी तथा संस्थागत विद्यालयमाथि बढ्दो दबाब, अभिभावक र विद्यार्थीबीच बढेको चासो तथा विश्वासको संकटजस्ता विषयलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवात संयोजक भवानीप्रसाद पौडेलको स्वागत मन्तव्यबाट भएको थियो। उनले वर्तमान शिक्षा प्रणालीमा देखिएका अन्योल र चुनौतीहरूलाई सम्बोधन गर्न सबै सरोकारवालाबीच खुला संवाद आवश्यक रहेको बताए। “विद्यालय शिक्षामा अहिले विविध खालका समस्या र अन्योल देखिएका छन्। यसलाई समाधान गर्न नीति निर्माण तहदेखि विद्यालय व्यवस्थापनसम्म सबै पक्षबीच सहकार्य र स्पष्ट दृष्टिकोण आवश्यक छ,” उनले भने।


पौडेलले यस प्रकारका बहसले मात्र दीर्घकालीन समाधानको आधार तयार गर्न सक्ने उल्लेख गर्दै यस कार्यक्रममार्फत व्यावहारिक समाधान र स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरिएको बताए। साथै उनले शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन र त्यसले सिर्जना गरेका जिज्ञासा तथा विवादलाई जिम्मेवार ढंगले सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे।
कार्यक्रममा HISSAN का महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई गम्भीरतापूर्वक हेर्नुपर्ने आवश्यकता औंल्याए। उनले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको योगदानलाई उचित रूपमा समेट्न नसकिएको गुनासो गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए।


त्यसैगरी PABSON का प्रमुख सल्लाहकार डिके ढुंगानाले राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोणप्रति असन्तुष्टि जनाए। उनले सरकारले पछिल्ला समय लिएका केही निर्णयहरू हचुवाको भरमा भएको आरोप लगाए। “आइतबार पनि विद्यालय बन्द गर्ने निर्णय जस्ता विषयमा सरोकारवाला पक्षसँग पर्याप्त परामर्श नगरी निर्णय गरिनु उपयुक्त होइन,” उनले भने, “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि निर्णय लिँदा सबै पक्षको सहभागिता अनिवार्य हुन्छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल डिस्कसनमा शिक्षा क्षेत्रका प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्यानलमा HISSAN का अध्यक्ष युवराज शर्मा, PABSON अध्यक्ष कृष्ण अधिकारी, N-PABSAN अध्यक्ष सुबास न्यौपाने तथा राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सहभागी थिए।
प्यानलिस्टहरूले विद्यालय शिक्षाको वर्तमान अवस्था, देखिएका कमजोरी, नीतिगत अस्पष्टता तथा सुधारका सम्भावित उपायहरूबारे आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले शिक्षा प्रणालीमा गुणस्तर सुधार गर्न नीति र कार्यान्वयनबीचको खाडल कम गर्नुपर्नेमा जोड दिएका थिए। साथै निजी विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई राज्यले सकारात्मक रूपमा मूल्यांकन गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
छलफलका क्रममा अभिभावकहरूको बढ्दो अपेक्षा, विद्यार्थीहरूको बदलिँदो आवश्यकता र प्रविधिको प्रयोगले शिक्षा प्रणालीमा ल्याएको परिवर्तनबारे पनि विस्तृत बहस भएको थियो। वक्ताहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउन पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरे।
त्यसैगरी, सरकारी र निजी क्षेत्रबीच सहकार्यको अभावले शिक्षा क्षेत्रमा समस्या बढाएको निष्कर्ष निकाल्दै सबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। अभिभावक प्रतिनिधि सुप्रभात भण्डारीले अभिभावकको आवाजलाई नीति निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै दीर्घकालीन नीतिगत स्थायित्व कायम गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए। उनीहरूले बारम्बार हुने नीतिगत परिवर्तनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैमा अन्योल सिर्जना गर्ने भएकाले स्थिर र स्पष्ट नीति आवश्यक रहेको बताएका थिए।
कार्यक्रमले विद्यालय शिक्षामा देखिएका जटिल विषयहरूलाई सार्वजनिक बहसमा ल्याउँदै समाधानको खोजी गर्ने दिशामा महत्वपूर्ण पहल गरेको आयोजकको विश्वास छ। साथै यसले नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्दै शिक्षा सुधारको प्रक्रियामा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समग्रमा, उक्त प्यानल डिस्कसनले विद्यालय शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गहिरो विश्लेषण गर्दै आगामी दिनमा शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट सन्देश दिएको सहभागीहरूको धारणा रहेको थियो।












