काठमाडौंमा विष्णुमती किनारबाट चार पेस्तोल र ५८ राउन्ड गोली बरामद
काठमाडौं।काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली बरामद गरेको छ।
बरामद सामग्रीमध्ये टाइप–५४ का चार थान पेस्तोल र सोही प्रकारका ७ थान म्यागजिन फेला परेको प्रहरीले जनाएको छ। आइतबार बिहान सरसफाइ अभियानका क्रममा महानगरपालिका र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त हतियार फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुको टोली घटनास्थल पुगेर हतियार संकलन गरेको थियो।



प्रारम्भिक अनुसन्धानमा ती हतियार जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ। तर एसपी भट्टराईले हतियार हालै मात्र सो स्थानमा फालिएको जस्तो देखिएको भन्दै घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीले हतियार कसले, कहिले र किन त्यहाँ ल्याएर फालेको भन्नेबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ।












