कांग्रेस आधिकारिकता विवाद टुंगियो: “अब पार्टी मिलाउने जिम्मा गगनजीको”-महत
काठमाडौं-नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिएसँगै पार्टीभित्रको कानुनी संघर्ष अन्त्य भएको छ। अदालतको फैसलापछि प्रतिक्रिया दिँदै नेता प्रकाशशरण महत ले अब कानुनी बाटो पूर्ण रूपमा सकिएको बताएका छन्।
उनले सर्वोच्चको निर्णय आफूहरूको अपेक्षा विपरीत आएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको बताए। “अपेक्षित निर्णय आएन, कानुनी रूपमा हामी जाने अर्को ठाउँ अब समाप्त भयो,” महतले भने।
महतका अनुसार वर्तमान अवस्थामा नेपाली कांग्रेस चुनौतीपूर्ण मोडमा रहेको छ र आगामी १५औँ महाधिवेशनलाई एकताको आधार बनाउन आवश्यक छ। उनले सबै पक्षलाई समेटेर साझा समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
उनले थपे, “आधिकारिकता पाइसकेपछि अब पार्टीका सबै नेताहरूलाई एक ठाउँमा ल्याउने र एकीकृत बनाएर लैजाने मुख्य जिम्मेवारी सभापति गगन थापा को हो। त्यसका लागि उहाँले नै पहल गर्नुपर्छ।”
सर्वोच्चको फैसलापछि पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ समीकरण देखिने अनुमान गरिएको छ भने अब कांग्रेस नेतृत्वले एकता कायम गर्दै आगामी राजनीतिक यात्रा कसरी अगाडि बढाउँछ भन्ने चासो बढेको छ।












