खोटाङकी रेजिना चाम्लिङको कडा आपत्ति: फेसबुक फोटो दुरुपयोग र शरीरबारे टिप्पणीलाई लिएर चेतावनी – Sagarmathapana:: Online News Portal

खोटाङकी रेजिना चाम्लिङको कडा आपत्ति: फेसबुक फोटो दुरुपयोग र शरीरबारे टिप्पणीलाई लिएर चेतावनी

   २०८३ बैशाख ४ गते  

काठमाडौं।खोटाङकी रेजिना चाम्लिङले आफ्नो फेसबुक वालबाट फोटो स्क्रिनसट गरी अनुमति बिना सार्वजनिक गर्दै व्यक्तिगत रूप–सौन्दर्यबारे नकारात्मक टिप्पणी गरिएकोप्रति कडा आपत्ति जनाएकी छन्। हाल दक्षिण कोरियामा बसोबास गर्दै आएकी चाम्लिङले यस्तो गतिविधिलाई अनलाइन ह्यारेसमेन्ट भन्दै तुरुन्त रोक्न चेतावनी दिएकी हुन्।

फोटोग्राफी र प्रकृतिप्रेममा सक्रिय चाम्लिङले सामाजिक सञ्जालमा लेख्दै भनिन्— कसैको फोटो प्रयोग गरेर उसको रूप, शरीर वा व्यक्तिगत विषयमा टिप्पणी गर्नु अनैतिक मात्र नभई प्रचलित साइबर कानुनअनुसार कारबाहीयोग्य अपराध हो।

उनले विशेषगरी छोरीचेलीको शरीरका अंगलाई लिएर “लेम्लेमा” जस्ता उपमा प्रयोग गर्दै संस्कार–संस्कृतिसँग जोडेर गरिने टिप्पणीलाई अत्यन्त संवेदनशील र अस्वीकार्य विषय भएको बताएकी छन्। “कुनै पनि व्यक्तिको शरीर कस्तो बनाउने भन्ने नितान्त व्यक्तिगत कुरा हो, यसमा अरूको हस्तक्षेप स्वीकार्य हुँदैन,” उनले उल्लेख गरेकी छन्।

चाम्लिङले आफू समुदायप्रति जिम्मेवार रहेको बताउँदै सामाजिक सञ्जालमा बहस गर्नुपर्ने धेरै सकारात्मक र रचनात्मक विषय हुँदाहुँदै व्यक्तिगत शरीर र रूपलाई लक्षित गरेर टिप्पणी गर्नु गलत अभ्यास भएको बताइन्।

उनले सम्बन्धित व्यक्तिलाई तत्काल उक्त पोस्ट हटाउन आग्रह गर्दै पुनः यस्तो गतिविधि दोहोरिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी छन्। साथै, सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक भएपछि त्यो व्यक्तिगत डायरीजस्तो नहुने भए पनि कसैको फोटो वा भिडियो अनुमति बिना दुरुपयोग गर्न कसैलाई अधिकार नभएको स्पष्ट पारेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै