ग्रामीण चलचित्र महोत्सवका लागि १७ फिल्म छनोट,पहिलोपटक तराईमा आयोजना
काठमाडौं ।ग्रामीण चलचित्र महोत्सवले यस वर्षका लागि आधिकारिक रूपमा छनोट भएका फिल्महरूको सूची सार्वजनिक गरेको छ। कथानक, भाषाभाषी र छोटा फिल्म विधामा उत्कृष्ट कृतिहरूलाई समेट्दै लाइनअप घोषणा गरिएको हो।
कथानक फिल्मतर्फ ‘मोहर’, ‘गुन्यु चोलो’, ‘सिटामोल’, ‘माइतीघर’ र ‘कोशेढुंगा’ छनोट भएका छन्। त्यस्तै भाषाभाषी विधामा ‘इहिरी’, ‘सेमिफुङ’, ‘नाकछोङ’, ‘सब्रे म्रु’ र ‘बहौरिया’ रहेका छन्।


छोटो फिल्मतर्फ ‘थरी माइलाको भेजिटेबल गार्डन’, ‘अभिभारा’, ‘खिल’, ‘चाह के रङ्ग’, ‘भोटको मोल’, ‘नीलो आकाश’ र ‘लौलासा’ चयन भएका छन्।
यो सूची सर्लाहीको चन्द्रनगर गाउँपालिका मा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा र गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो।

महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सोही स्थानमा आयोजना हुने तय गरिएको छ। ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको यो महोत्सव यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको थियो। यसपटक भने पहिलोपटक तराई क्षेत्रमा आयोजना हुन लागेको हो।
यस वर्ष तीन विधाका लागि ५० भन्दा बढी फिल्मबाट आवेदन परेकोमा १७ वटा फिल्म अन्तिम छनोटमा परेका हुन्। विशेष कुरा, महोत्सवमा सहभागी दर्शकले सबै फिल्म निःशुल्क रूपमा अवलोकन गर्न सक्नेछन्।













