सुनसरीमा लिम्बू पत्रकार संघद्वारा दुई अक्षयकोष स्थापना, बैशाख ११ मा भव्य घोषणा कार्यक्रम – Sagarmathapana:: Online News Portal

सुनसरीमा लिम्बू पत्रकार संघद्वारा दुई अक्षयकोष स्थापना, बैशाख ११ मा भव्य घोषणा कार्यक्रम

   २०८२ चैत्र ३० गते  

सुनसरी- पत्रकारिताको गुणस्तर अभिवृद्धि र पेशागत सशक्तीकरणलाई लक्ष्य बनाउँदै लिम्बू पत्रकार संघ सुनसरीले दुईवटा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। संघले १० लाख रुपैयाँ र २ लाख रुपैयाँका दुई छुट्टाछुट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो।

चुम्लुङ हिममा सम्पन्न संघको बैठकले अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधि पारित गर्दै वार्षिक सम्मान कार्यक्रमसमेत सार्वजनिक गरेको छ। पारित कार्यविधिअनुसार हरेक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने पाँच जना सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

संघले यस सम्मान कार्यक्रममा लिम्बू समुदायसँगै गैर-लिम्बू पत्रकारलाई पनि समेट्ने व्यवस्था गरेको जनाएको छ। यस कदमले समावेशी र व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

कार्यविधिमा पुरस्कार छनोट प्रक्रिया, मूल्याङ्कनका मापदण्ड तथा अक्षयकोषको पारदर्शी सञ्चालनबारे स्पष्ट प्रावधानहरू समावेश गरिएको संघले जनाएको छ। संघका पदाधिकारीहरूका अनुसार यस पहलले पत्रकारितामा स्वस्थ प्रतिस्पर्धा बढाउने र गुणस्तरीय समाचार उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

संघले आगामी २०८३ साल बैशाख ११ गते आयोजना हुने वार्षिक साधारणसभामा अक्षयकोषको औपचारिक घोषणा गर्ने र सहयोगदाताहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने तयारी तीव्र रूपमा अघि बढाइएको संघले जानकारी दिएको छ।

संघका अनुसार, यो पहल सुनसरी जिल्लामा पत्रकारिता विकासका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै