श्रम स्वीकृतिका नाममा ठगी रोक्न विभागको कडाइ चैत ३० भित्र भ्रामक सूचना हटाउन निर्देशन – Sagarmathapana:: Online News Portal

श्रम स्वीकृतिका नाममा ठगी रोक्न विभागको कडाइ चैत ३० भित्र भ्रामक सूचना हटाउन निर्देशन

   २०८२ चैत्र २७ गते  

काठमाडौं।वैदेशिक रोजगार विभाग ले श्रम स्वीकृतिका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने गतिविधि नियन्त्रण गर्न कडा कदम चालेको छ। विभागले आफ्नो कार्यालय आसपास सञ्चालनमा रहेका साइबर सेन्टर र तालिम केन्द्रहरूलाई भ्रामक सूचना तथा विज्ञापन तत्काल हटाउन निर्देशन दिएको हो।

विभागका अनुसार “यहाँ श्रम गरिन्छ” वा “श्रम अनलाइन फारम भरिन्छ” जस्ता वाक्यांश प्रयोग गरेर निजी संस्थाहरूले सरकारी सेवा प्रदान गर्ने भ्रम सिर्जना गरेका छन्, जसका कारण वैदेशिक रोजगारीमा जाने सेवाग्राही अन्योलमा पर्ने गरेका छन्। यस्तो भ्रामक सामग्री चैत ३० गतेभित्र अनिवार्य रूपमा हटाउन समयसीमा तोकिएको छ।

श्रम स्वीकृति दिने अधिकार केवल विभाग र तोकिएका सरकारी श्रम कार्यालयहरूमा मात्र सीमित रहेको स्पष्ट पार्दै विभागले निजी क्षेत्रबाट यस्तो सेवा दिएको देखिने गरी बोर्ड राख्नु वा प्रचारप्रसार गर्नु गैरकानुनी भएको जनाएको छ।

विभागले निर्देशन अटेर गर्ने संस्था वा व्यक्तिलाई वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, यस्ता गतिविधिले ठगीको जोखिम बढाउने भएकाले सेवाग्राहीलाई आधिकारिक निकायबाट मात्र सेवा लिन आग्रह गरिएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीसम्बन्धी प्रक्रियामा अनलाइन सेवाको विस्तारसँगै ठगीका नयाँ तरिका बढ्दै गएको भन्दै विभागले निगरानीसमेत कडा बनाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै