न्युयोर्कमा सागर लम्साल ‘बले’विरुद्ध बलात्कार आरोप, अनुसन्धान सुरु
काठमाडौं।चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकाको न्युयोर्कमा गम्भीर आरोपसहित मुद्दा दायर भएको छ।
प्राप्त जानकारीअनुसार, न्युयोर्कमा बसोबास गर्दै आएकी संगम बिष्टले लम्सालमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी हुन्। उक्त घटनाबारे अमेरिकी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताइएको छ।


प्रारम्भिक चरणमा प्रहरीले प्रमाण संकलन तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने कार्य गरिरहेको छ। आवश्यक परेमा नेपाल र अमेरिकाबीचको कानुनी सहकार्यअन्तर्गत नेपाल प्रहरीसँग समन्वय गरी थप अनुसन्धान अगाडि बढाइने सम्भावना रहेको स्रोतले जनाएको छ।

हालसम्म लम्सालविरुद्ध लगाइएका आरोपहरू पुष्टि भइसकेका छैनन्। घटनाको वास्तविकता सम्बन्धित निकायको अनुसन्धान र अदालतको अन्तिम निर्णयपछि मात्र स्पष्ट हुनेछ।
यसअघि गत शनिबार काठमाडौंको कपनस्थित बालुवाखानीबाट पक्राउ परेका लम्साल हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका छन्। उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












