तास्केन्त विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा कृतिका कटवालले नेपालको प्रतिनिधित्व गर्ने – Sagarmathapana:: Online News Portal

तास्केन्त विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिपमा कृतिका कटवालले नेपालको प्रतिनिधित्व गर्ने

   २०८२ चैत्र २६ गते  

काठमाडौं- राष्ट्रिय तेक्वान्दो टोलीकी प्रतिभाशाली खेलाडी कृतिका कटवालले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता ‘World Taekwondo Junior Championships 2026’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। प्रतियोगिता उजबेकिस्तानको Tashkent मा अप्रिल १२ देखि १७ सम्म सञ्चालन हुने तय भएको छ।

Nepal Taekwondo Association अन्तर्गतकी खेलाडी कटवालले ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। World Taekwondo को आधिकारिक क्यालेन्डरमा समावेश यस प्रतियोगितालाई विश्वभरका उत्कृष्ट जुनियर खेलाडीहरूको जमघटका रूपमा लिइन्छ।

बुढानीलकण्ठ नगरपालिका–१० निवासी कृतिका लामो समयदेखि स्थानीयदेखि राष्ट्रिय तहसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्। उनले विभिन्न प्रतियोगितामा पदक जित्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्। निरन्तर अभ्यास, अनुशासन र मेहनतकै बलमा उनी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन्।


उनको अन्तर्राष्ट्रिय सहभागितालाई विशेष बनाउँदै बुढानीलकण्ठ नगरपालिकाले सम्मानसहित बिदाइ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रशिक्षक दीपक दुलाल, नगर खेलकुद विकास समितिका उपाध्यक्ष दीपक तामाङ तथा सदस्य सञ्जय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख मिथाराम अधिकारी र उपप्रमुख अनिता लामाले कृतिकालाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका थिए। उनीहरूले कृतिकाको मेहनत, समर्पण र खेलप्रतिको लगावको प्रशंसा गर्दै नेपालको नाम उज्ज्वल बनाउन सफल हुने विश्वास व्यक्त गरे।

कृतिका कटवालको सहभागिताले नेपाली तेक्वान्दोमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। अब सबैको ध्यान तास्केन्तमा हुने उनको प्रदर्शनतर्फ केन्द्रित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै