पाटनमा हेरिटेज पर्यटन प्रवर्द्धनका लागि ई–बुकिङ नेपाल र पाटन स्टे एसोसिएसनबीच सम्झौता – Sagarmathapana:: Online News Portal

पाटनमा हेरिटेज पर्यटन प्रवर्द्धनका लागि ई–बुकिङ नेपाल र पाटन स्टे एसोसिएसनबीच सम्झौता

   २०८२ चैत्र २४ गते  

काठमाडौं।पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले ई–बुकिङ नेपाल प्रा. लि. र पाटन स्टे एसोसिएसनबीच रणनीतिक सहकार्य सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार पाटन स्टे एसोसिएसनअन्तर्गत रहेका होमस्टे, हेरिटेज होम, BnB, होटल, लज तथा अपार्टमेन्टहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समेटिनेछ। यसले स्वदेशी तथा विदेशी पर्यटकलाई सहज रूपमा अनलाइनमार्फत आवास बुकिङ गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

ई–बुकिङ नेपाल उक्त एसोसिएसनका सदस्य सम्पत्तिहरूका लागि एक्सक्लुसिभ डिजिटल बुकिङ पार्टनरका रूपमा रहनेछ। साथै, प्लेटफर्ममा “Patan Heritage Stay” नामक विशेष क्याटेगोरीसमेत विकास गरिनेछ।

यस सहकार्यअन्तर्गत सहभागी आवास सेवाहरूमा QR-आधारित बुकिङ प्रणाली लागू गरिनेछ, जसले पाहुनाहरूलाई छिटो र सजिलो रूपमा अनलाइन बुकिङ गर्न सक्षम बनाउनेछ।

दुवै संस्थाले संयुक्त रूपमा पाटनको कला, संस्कृति, सम्पदा र पर्यटन गतिविधिहरूको डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने योजना पनि बनाएका छन्।

पाटन स्टे एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारी र ई–बुकिङ नेपालका COO अनिल रिजालले यो साझेदारीले स्थानीय आवास व्यवसायलाई सशक्त बनाउँदै पाटनलाई प्रमुख हेरिटेज स्टे गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई स्थानीय स्तरबाट व्यवस्थित र प्रवर्द्धन गर्ने प्रयासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै