नेपाल चलचित्र कलाकार संघको निर्वाचन स्थगित
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
संघका अध्यक्ष मोहन निरौलाले अर्को सूचना जारी नभएसम्म निर्वाचन रोकिएको जानकारी दिएका छन्। यसअघि चैत २८ गतेका लागि तय गरिएको निर्वाचन निर्धारित मितिमा हुन नसकेको हो।
अध्यक्ष निरौलाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, साधारणसभाको तोकिएको समयसीमाभित्र प्रमाणित मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएकाले निर्वाचन स्थगित गरिएको हो।


उक्त निर्वाचनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने तयारी थियो। यसपटक नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको थियो। वर्तमान महासचिव तथा नायक सविन श्रेष्ठ र वरिष्ठ कलाकार उत्तम केसी अध्यक्ष पदका प्रमुख दाबेदारका रूपमा उभिएका थिए।


दुवै पक्षले आ-आफ्नो प्यानल सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धा तीव्र बनाएका थिए। अब निर्वाचनको नयाँ मिति कहिले तय हुन्छ भन्नेबारे संघले आगामी सूचनामार्फत जानकारी दिने जनाएको छ।












