पोखरामा २१औं फेवा नववर्ष महोत्सवको तयारी तीव्र, विभिन्न संघसंस्थाको साथ – Sagarmathapana:: Online News Portal

पोखरामा २१औं फेवा नववर्ष महोत्सवको तयारी तीव्र, विभिन्न संघसंस्थाको साथ

   २०८२ चैत्र २२ गते  

पोखरा। आगामी नयाँ वर्षको अवसर पारेर फेवा नववर्ष महोत्सव २०८३ सफल बनाउन विभिन्न पर्यटन तथा व्यवसायिक संघसंस्थाहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

होटल संघ पोखरा नेपाल द्वारा आयोजित छलफल कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले फेवा महोत्सवलाई “समग्र पोखरेलीको साझा पर्व” का रूपमा लिएको बताएका छन्।


महोत्सव संयोजक लक्ष्मण सुवेदीका अनुसार, यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा ताल किनारमा आयोजना हुने महोत्सवमा यस वर्ष पंचै बाजा प्रतियोगिता विशेष आकर्षणका रूपमा रहनेछ। दुलही लिन जाने सांस्कृतिक झाँकीदेखि रत्यौली कार्यक्रमसम्मका परम्परागत गतिविधिहरू समावेश गरिनेछ।

यसका साथै पर्यटक दौड, दोहोरी कार्यक्रम र सांगीतिक कन्सर्ट पनि महोत्सवका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

आयोजकका सल्लाहकार भरतराज पराजुलीले नेपाली कला, संस्कृति संरक्षण गर्दै पोखरामा पर्यटकको बसाइ अवधि बढाउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्य महोत्सवले लिएको बताए।

Screenshot

कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले नयाँ वर्षमा आयोजना हुने भएकाले यो महोत्सवलाई “पर्वकै रूपमा” लिनुपर्ने धारणा राखे। उनले निजी क्षेत्रबाट यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक भएको उल्लेख गरे।

छलफलका क्रममा सहभागीहरूले महोत्सव सफल बनाउन सुरक्षा, ट्राफिक व्यवस्थापन, पार्किङ, होटल दररेट नियन्त्रण, डिजिटल प्रवर्द्धन र जेन–जी युवालाई आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको सुझाव दिएका छन्।

महोत्सवमा पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ, नेपाल हवाई खेलकूद संस्था लगायत विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहने जनाइएको छ।

कार्यक्रमको सञ्चालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै