ललितपुरमा नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, ३०० स्टलमा महिला उद्यमीको सहभागिता – Sagarmathapana:: Online News Portal

ललितपुरमा नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, ३०० स्टलमा महिला उद्यमीको सहभागिता

   २०८२ चैत्र २१ गते  

काठमाडौं।महिला उद्यमी महासंघ नेपालको आयोजनामा नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारदेखि ललितपुरस्थित हेरिटेज गार्डेनमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले महिला उद्यमशीलताले व्यक्तिगत क्षमता विकाससँगै परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले स्थानीय स्रोत–साधनको उपयोग र रोजगारी सिर्जनामा महिला उद्यमीको योगदान उल्लेखनीय रहेको धारणा राखे। घरायसी काममा सीमित महिलाहरू अहिले आफ्नै उद्यम स्थापना गर्दै औद्योगिक क्षेत्रमा समेत सक्रिय भएको उनले बताए।

महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले मेला नेपाली महिला उद्यमीहरूको उत्सव भएको बताउँदै यसले उनीहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सेतुको रूपमा काम गर्ने उल्लेख गरिन्। उनले उत्पादनसँगै प्रविधिको प्रयोग, ब्रान्डिङ र बजार विस्तारमा थप सहकार्य आवश्यक रहेको औंल्याइन्।

श्रेष्ठले महिलाका उत्पादन वर्षभरि बिक्री गर्न सकिने गरी स्थायी शोरुम र स्टलको व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरिन्।

मेलामा देशभरका ३०० महिला उद्यमीका स्टलहरू रहेका छन्, जहाँ रैथाने तथा मौलिक उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

यस अवसरमा महासंघले मधेश प्रदेश सर्लाहीकी महिला उद्यमी निर्मला महतो र महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणालाई सम्मान समेत प्रदान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै