प्रोस्थेटिक मेकअप तालिम सम्पन्न, २६ सहभागीलाई प्रमाणपत्र वितरण
काठमाडौं।नेपाली चलचित्र क्षेत्रको प्राविधिक दक्षता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको प्रोस्थेटिक मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड को आयोजना तथा लाइट बेन्डर्स को संयोजनमा सञ्चालित उक्त तालिममा सहभागी २६ जनालाई प्रमाणपत्र प्रदान गरिएको हो।
तालिम समापन समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी सहित चर्चित कलाकार गौरी मल्ल र बिपिन कार्की विशेष अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाउनुका साथै सहभागीहरूमा उत्साह र प्रेरणा थपिएको आयोजकले जनाएको छ।


विशेष मेकअप प्रविधिमा केन्द्रित यो तालिमले नेपाली चलचित्रमा चरित्र निर्माण, दृश्यको यथार्थता तथा प्रस्तुतीकरणको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। प्रोस्थेटिक मेकअपको प्रयोगले कलाकारलाई पात्रअनुसार अझ विश्वसनीय रूपमा प्रस्तुत गर्न सहयोग गर्ने भएकाले यस्ता तालिमहरूलाई चलचित्र उद्योगको दीर्घकालीन विकाससँग जोडेर हेरिएको छ।
प्रमाणपत्र प्राप्त गरेका सहभागीहरू अब नेपाली चलचित्र क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिका रूपमा उदाउने अपेक्षा गरिएको छ। बोर्डले यस्ता सीपमूलक तथा प्रविधिमैत्री कार्यक्रममार्फत नेपाली चलचित्रलाई थप व्यावसायिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

हाल नेपाली चलचित्र क्षेत्रमा कथा र अभिनयसँगै प्राविधिक उत्कृष्टताको आवश्यकता बढ्दो छ। यस्तो अवस्थामा प्रोस्थेटिक मेकअप जस्तो विशिष्ट विधामा तालिम सम्पन्न हुनु उद्योगका लागि सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।













