चलचित्र पत्रकार संघको देशव्यापी विस्तार, १५ जिल्ला र ८ विदेशी शाखामा अधिवेशन सम्पन्न – Sagarmathapana:: Online News Portal

चलचित्र पत्रकार संघको देशव्यापी विस्तार, १५ जिल्ला र ८ विदेशी शाखामा अधिवेशन सम्पन्न

   २०८२ चैत्र १२ गते  

काठमाडौं।चलचित्र पत्रकार संघले देशभर आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै १५ जिल्ला तथा ८ विदेशी शाखामा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। संघका अध्यक्ष समीर बलामीले अब संघको पहुँच सबै प्रदेश र जिल्लासम्म विस्तार भइसकेको जानकारी दिएका छन्।

उनका अनुसार संघको भूमिका केवल चलचित्र पत्रकारितामै सीमित नभई कला, साहित्य, संगीत, रंगमञ्च तथा समग्र मनोरञ्जन क्षेत्रका गतिविधिमा समेत सक्रिय रूपमा विस्तार भइरहेको छ।

संघको १०औं केन्द्रीय महाधिवेशन आगामी ५ बैशाखमा संघीय राजधानी काठमाडौंमा आयोजना हुने तय भएको छ। महाधिवेशनबाट ३ वर्षे कार्यकालका लागि १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिनेछ।

यसअघि विभिन्न जिल्ला तथा प्रदेश शाखाहरूमा नयाँ कार्यसमिति चयन भइसकेका छन्। कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्मका शाखाहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षसहितका पदाधिकारीहरू चयन भई संघको संगठन संरचना सुदृढ बनाइएको छ।

संघले देश तथा विदेशमा आफ्नो सञ्जाल विस्तार गर्दै चलचित्र पत्रकारितालाई थप व्यवस्थित, सशक्त र व्यावसायिक बनाउने लक्ष्य लिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै