एआई फिल्ममेकिङ तालिम सम्पन्न, अब ३ दिने एड्भान्स कक्षा सञ्चालन हुने
काठमाडौं।चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको दुई दिने एआई फिल्ममेकिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत नेपाली चलचित्र क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा १५१ जना चलचित्रकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा जनकदिप पराजुली, सुचित्रा श्रेष्ठ, राजभाई सुवाल, विपिन स्थापित, कामेश्वर चौरसिया र गजित विष्टलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


नेपाल एआई फिल्म अलायन्स (NAIFA) को सहकार्यमा सञ्चालन गरिएको तालिममा सहभागीहरूले एआईको प्रयोग गरी स्क्रिप्टदेखि स्क्रिनसम्मको आधुनिक फिल्म निर्माण प्रक्रिया सिकेका थिए।
समापन समारोहमा बोल्दै बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागीहरूको उच्च उत्साहलाई मध्यनजर गर्दै थप ३ दिने एड्भान्स एआई फिल्ममेकिङ कक्षा सञ्चालन गरिने घोषणा गर्नुभयो।
प्रमाणपत्र वितरण समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
बोर्डका अनुसार यो कार्यक्रम केवल तालिममा सीमित नभई नेपाली चलचित्रको डिजिटल भविष्य निर्माण गर्ने अभियानको रूपमा अगाडि बढाइएको हो।













