पैसा बाँड्न लागेको आशंकामा कांग्रेस कार्यकर्ता पक्राउ, साढे ४ लाखसहित गाडी निर्वाचन कार्यालयमा बुझाइयो – Sagarmathapana:: Online News Portal

पैसा बाँड्न लागेको आशंकामा कांग्रेस कार्यकर्ता पक्राउ, साढे ४ लाखसहित गाडी निर्वाचन कार्यालयमा बुझाइयो

   २०८२ फाल्गुन १८ गते  

विराटनगर।मोरङको रतुवामाई क्षेत्रमा निर्वाचन प्रचारमा प्रयोग गरिएको गाडीबाट साढे चार लाख रुपैयाँभन्दा बढी नगद बरामद भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानपछि उनीहरूलाई छाडिएको भए पनि बरामद रकम र गाडी भने छानबिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविद कटवालका अनुसार को.१ च ७३३८ नम्बरको कार चेकजाँच गर्दा ४ लाख ४९ हजार रुपैयाँ नगद, नेपाली कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमूना मतपत्र फेला परेको थियो। गाडीमा सवार व्यक्ति कांग्रेस निकट कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

रतुवामाईमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गाडी रोकेर पैसा बाँड्न लागेको आशंकामा प्रहरीलाई खबर गरेका थिए। रकमको स्रोतबारे सोध्दा चालकले आफू व्यवसायी भएको र नगद आफ्नै भएको दाबी गरेको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएकामध्ये रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा रहेका छन्। घिमिरे नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन्। उनीहरूलाई गएराति करिब साढे ९ बजे रतुवामाई–७ जामवाढीबाट नियन्त्रणमा लिइएको थियो।

एसपी कटवालका अनुसार बरामद रकम र गाडी मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाइएको छ।

मोरङ–२ मा मिनेन्द्र रिजाल नेपाली कांग्रेसका उम्मेदवार रहेका छन्।सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट दिलिप बगडिया, नेपाल कम्युनिस्ट पार्टी बाट चन्द्रवीर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णकुमार कार्की प्रतिस्पर्धामा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै