मधेस प्रदेशमा हर्क साम्पाङको भ्रमण : शान्ति–सुरक्षा मिलाइदिन प्रशासनसँग आग्रह
धरान।हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले मधेस प्रदेश का विभिन्न जिल्लामा कार्यक्रमसहितको भ्रमण तालिका सार्वजनिक गरेको छ।
पार्टीका राष्ट्रिय अध्यक्ष साम्पाङको मधेस प्रदेश भ्रमणका क्रममा विभिन्न स्थानमा स्वागत, भेटघाट तथा आमसभासहितका कार्यक्रम तय गरिएको जनाइएको छ। कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र सफल बनाउन सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ।

पार्टीको मधेस प्रदेश कार्यालयले जारी गरेको पत्रअनुसार भ्रमणका क्रममा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही तथा धनुषा लगायतका जिल्लामा कार्यक्रम आयोजना हुनेछन्। ती स्थानमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम अवधिभर शान्ति–सुरक्षा व्यवस्था मिलाइदिन तथा भीड व्यवस्थापन र यातायात समन्वयमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको पार्टीले जनाएको छ।

पार्टीका मधेस प्रदेश इन्चार्ज दीपक ठाकुरले सबै कार्यक्रम सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिएका छन्।
भ्रमण अन्तर्गत जनसभा, स्वागत कार्यक्रम तथा स्थानीय नागरिकसँग अन्तरक्रियासमेत हुने जनाइएको छ।













