धर्मको खोल ओढेर लुट्ने धन्दाको सधैँ प्रश्न उठाइरहनेछु – श्यामसुन्दर पुडासैनी – Sagarmathapana:: Online News Portal

धर्मको खोल ओढेर लुट्ने धन्दाको सधैँ प्रश्न उठाइरहनेछु – श्यामसुन्दर पुडासैनी

   २०८१ भाद्र १ गते  

काठमाडौँ। म बाँचेर आउन सफल भएँ । पशुपति कोटीहोमको रणमैदानमा बाँच्नु सामान्य कुरो थिएन । नपत्याए, विभिन्न फेसबुक पेजका लाइभ भिडिओ हेर्नुहोला ।
सत्यको खोजीमा मैले उठाएका प्रश्नहरूको उत्तर कुटपिट र आक्रमणबाट मतिर फर्किए ।

आयोजकमाथि प्रश्न उठाउँदै कुटिने व्यक्ति म दोस्रो हुँ, , अर्का एक आयोजककै नियन्त्रणमा छन् । उनको टाउको फुटेको छ । धन्न मेरो जोगियो ।
लाइभ भिडियोमा मलाई कुटपिट गर्दै पछ्याएको देख्नुहुने छ । कतिपयले मार्नुपर्छ भन्दै अन्धाधुन्ध आक्रमण गरे ।

हेल्मेट र पर्स मात्र होइन, पत्रकार परिचयपत्र र मसँग भएका केही सामग्री पनि लुटियो । भिडको क्रोधले मलाई मञ्चसम्म उचाल्यो । जबरजस्ती फूलमाला र खादा लगाइयो । त्यो दुर्व्यवहार थियो । पछि मञ्चमा झारेर टाउको जीउ अन्धाधुन्ध आक्रमण गरियो ।

धन्न, म बेहोस हुन नपाउँदै भाग्न सफल भए । धन्न मुलसधारे पानी परेको रहेछ र मलाई प्राण दियो ।

भागेर पार्किङमा पुग्दा पुग्दै, मेरो पछि लाग्दै आएका युवाहरूको आक्रोश भाटा र ढुङ्गामा परिणत भयो । हेलमेटदेखि जुत्तासम्म रहेनछ । च्यातिएकै भए पनि जीउको कपडा रहेछन् । धन्न चाबी च्यातिएको गोजीमै रहेछ । बाइक स्टार्ट गरेर मुसलधारे पानीमा रुझ्दै आइपुगेँ । मलाई पच्छाउँदै आएका केही बाइकहरू कता लागे पत्तो भएन ।

टाउकोमा चोट त छैन तर घेरै टुटिला छन् । पाताहरू चलाउन नहुनेछन् । सायद एक्स्रेमा केही रिर्पाेट आउला । खुट्टामा चिर्पट लागेको चोट छ । अहिले उपचारमा केन्द्रित छु ।

काठमाडौं प्रहरी प्रमुख र गौशाला वृत्त प्रमुखलाई कुटपीट र लुटपाटको घटनाबारे जानकारी गराएको छु । मेरो ज्यान लिने प्रयास गर्ने आयोजक विजय भण्डारी, उद्घोषक र केही युवाहरूलाई चिन्दछु । कतिपयलाई म चिन्दिन । उनीहरु को थिए, अरूले खिचेका भिडिओ रेकर्डमा भेटिएलान् । कानुनी प्रक्रियामा जानेछु । र धर्मको खोल ओढेर लुट्ने धन्दाको सधैँ प्रश्न उठाइरहनेछु ।
– श्यामसुन्दर पुडासैनी https://youtu.be/f0pl1e54Jx4

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै