उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक,सन् २०३५ सम्म प्रतिव्यक्ति आय ४ हजार डलर पुर्याउने लक्ष्य
काठमाडौं।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘निर्वाचन प्रतिबद्धता पत्र’ नाम दिइएको उक्त घोषणापत्र २४ वटा प्रमुख क्षेत्रलाई आधार मानेर तयार गरिएको पार्टीले जनाएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा देशको समृद्धिका लागि ‘विकास दशक’ घोषणा गरी योजनाबद्ध ढंगले काम अघि बढाइने उल्लेख छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले सन् २०३५ सम्म नेपालको प्रतिव्यक्ति आय ४ हजार अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य राखिएको जानकारी दिए।
उनका अनुसार आगामी वर्षहरूमा वार्षिक ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उत्पादन, ऊर्जा, कृषि, पर्यटन र प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिइनेछ। “देशभित्रै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने हाम्रो मुख्य उद्देश्य हो,” घिसिङले भने।
घोषणापत्रमा हरेक नागरिकले विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने व्यवस्था गरिने उल्लेख छ।साथै, तोकिएका स्वास्थ्य संस्थामार्फत सबै नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि गरिएको छ।
पार्टीले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, ऊर्जा आत्मनिर्भरता, पूर्वाधार विस्तार र सामाजिक सुरक्षालाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेको जनाएको छ। आगामी निर्वाचनमार्फत बहुमत प्राप्त गरी घोषणापत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्ने दाबी उज्यालो नेपाल पार्टीले गरेको छ।












