चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदनदिने दिनेश डिसी र राजेश थापामात्र – Sagarmathapana:: Online News Portal

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदनदिने दिनेश डिसी र राजेश थापामात्र

   २०८१ श्रावण २७ गते  

काठमाडौँचलचित्र विकास बोर्डको अध्यक्ष पदमा  आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरमा पूर्वमहाप्रवन्धक राजेश थापा छन् ।

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि गत साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।भुवन केसीको कार्यकाल सकिँदै गर्दा अध्यक्ष पदमा ५–६ जना आकाङ्क्षी देखिएपनि अहिलेसम्म मात्र दुई जनाको आवेदन परेको हो । आवेदन दिने म्याद साउन मसान्तसम्म रहेको छ ।

दिनेशले गत साउन १७ गते सिंहदरबारस्थित सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पुगेर आवेदन दर्ता गराएका थिए ।  यस्तै त्यसको केही दिनपछि राजेशको आवेदन परेको थियो । आवेदन परेको दुईमध्ये बोर्ड अध्यक्षमा दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका साथै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको समेत ग्रिन सिग्नल पाएर डिसीले अध्यक्ष पदमा आवेदन दिएको बताइन्छ ।

त्यसो त नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष डिसी नै हुन् । जनपक्षीय चलचित्रकर्मी संघले समेत बोर्डको अध्यक्षका लागि एमाले पार्टी, प्रधानमन्त्री केपी शर्मा ओली र संचारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सिफारिस गरिसकेको छ ।

मन्त्रालय स्रोतका अनुसार डिसीले आफ्नो आवेदनसँगै ६९ बुँदे कार्य योजनासमेत प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालदेखि स्वकीय सचिव राजेश बज्राचार्यसँगसम्म सम्बन्ध प्रगाढ भएका डिसी नै अध्यक्ष बन्ने सम्भावना बलियो रहेको चलचित्रकर्मीहरु बताउँछन् ।

यसबाहेक नरेश पौडेल, नरेन्द्र महर्जन लगायतले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । तर, उनीहरूले हालसम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।यसैबीच बोर्डको अध्यक्ष पदमा आकाङ्क्षा देखाएकी अभिनेत्री करिस्मा मानन्धरले सोमबार आवेदन दिन लागेको बताइन् ।

‘पूरै जीवन चलचित्र क्षेत्रमा बिताएकाले बोर्डको नेतृत्व गर्ने इच्छा हुनु स्वाभाविक हो,’ करिस्माले भनिन् ‘सरकारले एउटा नारीलाई पनि अवसर दिन्छ भन्ने लागेको छ ।’ बोर्ड अध्यक्ष भएर फिल्म क्षेत्रका लागि केही गर्ने इच्छा रहेको करिस्माले सुनाइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै