जसपा खोटाङद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दुई जनाको नाम सिफारिस
खोटाङ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) खोटाङले प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेको छ।
जिल्ला समितिको निर्णयअनुसार राकेश राई र प्रकाश चाम्लिङमध्ये एक जनालाई प्रत्यक्ष उम्मेदवार बनाउने गरी पार्टी केन्द्रीय समितिमा नाम पठाइएको हो।


सिफारिसमा परेका राकेश राई २०७९ सालको निर्वाचनमा जसपाबाट प्रदेशसभाको प्रत्यक्ष उम्मेदवार रहेका थिए। खोटाङ सेवा समाजका निवर्तमान अध्यक्षसमेत रहेका राई २०६९ सालमा संघीय समाजवादी पार्टी गठन भएदेखि नै पार्टीमा आबद्ध रहँदै आएका छन्। उनी पहिचानसहितको संघीयताको पक्षमा सक्रिय रूपमा आन्दोलनमा संलग्न रहँदै आएका नेता हुन्।
त्यस्तै, प्रकाश चाम्लिङ हाल पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष छन्। उनी पनि २०६९ सालदेखि अशोक राई नेतृत्वको पार्टीमा रहेर पहिचानसहितको संघीयताको पक्षमा निरन्तर संघर्ष गर्दै आएका विद्यार्थी नेता हुन्।
जसपा खोटाङले स्थानीय तह, प्रदेश र संघीय तहमा पार्टीको संगठन विस्तार र पहिचानको मुद्दालाई मजबुत बनाउने उद्देश्यले उम्मेदवार सिफारिस गरिएको जनाएको छ।
सगरमाथापाना,












