धरानको १२५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
धरान।आधुनिक शहर धरान स्थापना भएको १२५ वर्ष पूरा भएको अवसरमा आज धरान उपमहानगरपालिकाले एकदिने स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा धरानको पब्लिक स्कुलबाट झाँकीसहितको र्याली सुरु भई नगरका मुख्य सडक परिक्रमा गर्दै पुनः पब्लिक स्कुलको खुला मैदानमा आएर र्याली बिसर्जन गरिएको थियो। विभिन्न संघ–संस्था, सांस्कृतिक समूह तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको र्यालीले धरानको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचान झल्काएको थियो।


र्याली बिसर्जनपछि खुला मैदानमा औपचारिक सभाको आयोजना गरिएको थियो। सभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यस वर्ष धरान दिवस एकदिने मात्र आयोजना गर्नुको कारण स्पष्ट पारे।
मेयर साम्पाङका अनुसार जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पौष २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै संघीय सरकारको गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएको थियो। सोही कारण औपचारिक कार्यक्रम एकदिने मात्र सीमित गर्नुपरेको उनले बताए।

उनले आगामी दिनमा धरानको विकास, सुशासन र पहिचानलाई अझ मजबुत बनाउँदै स्थापना दिवसलाई थप अर्थपूर्ण रूपमा मनाइने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
तस्बिरः निमा पोङ्सुवा














