बरुण खोलामा अवैध सर्वे भएको आशंका, निकुञ्ज कार्यालयद्वारा २४ घण्टे छानबिन आदेश – Sagarmathapana:: Online News Portal

बरुण खोलामा अवैध सर्वे भएको आशंका, निकुञ्ज कार्यालयद्वारा २४ घण्टे छानबिन आदेश

   २०८२ पुष ७ गते  

संखुवासभा।मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने बरुण खोलामा जलविद्युत आयोजना निर्माणको बहानामा अवैध रूपमा सर्वे कार्य भइरहेको आशंका भएपछि निकुञ्ज कार्यालयले कडा कदम चालेको छ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मकालु–बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले अनुमति बिना अपरिचित व्यक्तिहरूले सर्वे गरिरहेको भन्ने उजुरी प्राप्त भएपछि तत्काल स्थलगत छानबिन गर्न निर्देशन दिएको हो। कार्यालयले सम्बन्धित कर्मचारीलाई २४ घण्टाभित्र सत्य–तथ्य पत्ता लगाई लिखित प्रतिवेदन पेश गर्न आदेश जारी गरेको जनाएको छ।

निकुञ्ज कार्यालयका अनुसार स्थानीय संरक्षण समिति तथा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहबाट प्राप्त गुनासोका आधारमा उक्त निर्णय लिइएको हो। पत्रमार्फत बरुण खोलामा जलविद्युत आयोजना निर्माणका नाममा भइरहेको भनिएको गतिविधि कानुनी प्रक्रिया अनुसार भएको हो वा होइन भन्ने विषयमा गम्भीर रूपमा अनुगमन गर्न निर्देशन दिइएको छ।

निकुञ्ज क्षेत्रभित्र अनुमति विना कुनै पनि प्रकारको सर्वे, उत्खनन वा निर्माण कार्य गर्न कानुनले निषेध गरेको छ। यदि अनधिकृत गतिविधि पुष्टि भएमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत निकुञ्ज कार्यालयले दिएको छ।

यस घटनाले संरक्षित क्षेत्रभित्र विकास आयोजनाका नाममा हुने गतिविधि प्रति थप सतर्कता आवश्यक रहेको सरोकार वाला हरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै