काभा वुमन्स नेसन्स लिग २०२४ भारतलाई ३–२ को सेटमा हराउँदै नेपालको ऐतिहासिक जित
काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।
२०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो ।
खचाखच भरिएको कभर्ड हलमा समर्थकको उत्साह बेग्लै थियो । प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।
प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।












