बरुण हाइड्रोपावरले ५% लाभांश घोषणा, पुस २६ मा २२औँ वार्षिक साधारण सभा
काठमाडौँ-बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका लागि ५ प्रतिशत लाभांश घोषणा गर्दै वार्षिक साधारण सभा बोलाएको छ।मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीमध्ये ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीले लाभांश प्रस्ताव अनुमोदन तथा अन्य एजेन्डामाथि छलफल गर्न मंसिर २६ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट २२औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।


सभामा बोनस शेयरसहित पूँजी वृद्धि, आव २०८१/८२ का लागि सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
यस्तै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा भएको परिवर्तन अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिने बताइएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। त्यसैले मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू मात्र लाभांश प्राप्ति र सभामा सहभागी हुन योग्य हुनेछन्।












