रोल नं. १’ बन्ने तयारी,बाल कलाकारको अडिसन खुला – Sagarmathapana:: Online News Portal

रोल नं. १’ बन्ने तयारी,बाल कलाकारको अडिसन खुला

   २०८२ कार्तिक १९ गते  

काठमाडौं।नयाँ नेपाली चलचित्र ‘रोल नं. १’ निर्माण हुने भएको छ । यस चलचित्रका लागि निर्माणपक्षले बाल कलाकारको अडिसन खुला गरेको जनाएको छ।

चलचित्रका निर्माता बिनोद पौडेल हुन्,जो यसअघि ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेर चर्चामा आएका थिए।उनीद्वारा निर्मित पछिल्लो चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ रिलिजपछि ‘रोल नं. १’ को छायांकन सुरु गरिने निर्माणपक्षले जनाएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने यस चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत ७ देखि १२ वर्ष उमेरका प्रतिभाशाली बालबालिकाको खोजी गरिरहेको छ।

गत वर्ष नै चलचित्रको घोषणा गरिँदा सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाइरहेको दृश्य देखाइएको थियो, जसले चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको सङ्केत गरेको थियो।


निर्माणपक्षका अनुसार चलचित्रका लागि

७ देखि ८ वर्ष उमेरका ३ जना केटा बाल कलाकार,

६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार, र

११ देखि १२ वर्ष उमेरका २ जना केटा बाल कलाकार
आवश्यक छन्।

बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिट हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी निर्माणपक्षले दिएको ठेगानामा पठाउन सक्नेछन्।

निर्माणपक्षले प्राप्त भिडियोहरूमध्ये छानिएका प्रतिस्पर्धीहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने जनाएको छ।

चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, तथा प्रशान्त शिवाकोटीको संगीत रहनेछ। कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्को चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ पनि चाँडै प्रदर्शनमा आउने तयारीमा रहेको निर्माणपक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै