अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच जेनजी आन्दोलनपछि पहिलोपटक प्रत्यक्ष भेटवार्ता
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भदौ २३–२४ को जेनजी आन्दोलनपछि पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको छ। आज भएको भेटमा मुलुकको ताजा राजनीतिक परिस्थिति, आगामी निर्वाचन र सर्वोच्च अदालतमा विचाराधीन संसद पुनस्थापनासम्बन्धी मुद्दासहित विस्तृत छलफल भएको स्रोतले जनाएको छ।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दुई ठूला दलका शीर्ष नेताहरूबीच यो भेट विशेष महत्वका रूपमा हेरिएको छ। देशमा राजनीतिक स्थिरता कायम गर्ने उपाय, निर्वाचन व्यवस्थापनका चुनौती तथा सर्वोच्च अदालतको फैसलाबाट बन्न सक्ने सम्भावित परिस्थितिबारे पनि गम्भीर कुराकानी भएको बताइएको छ।


जेनजी आन्दोलनका क्रममा दुवै पूर्वप्रधानमन्त्रीको निजी निवासमा आगजनी र तोडफोडका घटना भएका थिए। आन्दोलनपछि पहिलोपटक बसेको प्रत्यक्ष संवादलाई दुवै नेताले ‘राजनीतिक सहकार्य र संवाद बढाउने आवश्यक प्रयास’ को रूपमा प्रस्तुत गरेको UML नेता महेश बस्नेतले बताए।
उनका अनुसार आजको भेट मुलुकलाई उपयुक्त राजनीतिक निकास दिलाउन आवश्यक संयन्त्र र सम्भावनाहरूबारे केन्द्रित थियो। बस्नेतले आगामी दिनमा प्रमुख दलहरूबीच थप औपचारिक संवादका चरणहरू अघि बढ्न सक्ने संकेत पनि दिए।












