काठमाडौंमा फागुपूर्णिमा उल्लासपूर्ण रूपमा मनाइँदै,वसन्तपुरमा चिर दहनको तयारी – Sagarmathapana:: Online News Portal

काठमाडौंमा फागुपूर्णिमा उल्लासपूर्ण रूपमा मनाइँदै,वसन्तपुरमा चिर दहनको तयारी

   २०८२ फाल्गुन १८ गते  

काठमाडौं।हिमाली तथा पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उत्साहको सन्देश बोकेर आउने सांस्कृतिक पर्वका रूपमा परिचित छ।

राजधानी काठमाडौं उपत्यकामा पनि बिहानैदेखि युवायुवती, बालबालिका तथा विभिन्न समुदायका मानिसहरू एकआपसमा रङ र अबिर साटासाट गर्दै पर्व मनाइरहेका छन्। विशेषगरी पर्यटकीय क्षेत्र वसन्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ।

केही वर्षअघिसम्म उपत्यकामा होली पर्वका नाममा हुने अवाञ्छित गतिविधि र जबर्जस्ती रङ दल्ने प्रवृत्ति देखिए पनि पछिल्लो समय सुरक्षा निकायको सक्रियता र जनचेतनाका कारण पर्व सभ्य र व्यवस्थित बन्दै गएको छ। सडकमा काम विशेषले हिँड्ने सर्वसाधारणलाई इच्छा विपरीत रङ वा लोला हान्ने घटना न्यून भएका छन्।

आजै वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने कार्यक्रम छ। धार्मिक विश्वासअनुसार चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने मान्यता छ भने चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने विश्वास गरिन्छ।

फागुन शुक्ल अष्टमीका दिन गद्दी बैठक अगाडि मैलको रूख सिँगारेर चिर गाडिएसँगै सुरु भएको फागु पर्व आज चिर दहनसँगै औपचारिक रूपमा सम्पन्न हुनेछ।

तराईका जिल्लामा भने फागु पर्व भोलि मनाइने परम्परा रहेको छ। सरकारले आज हिमाली तथा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।

यस वर्षको फागुपूर्णिमा शान्त, सभ्य र उत्साहपूर्ण वातावरणमा मनाइँदै गएको देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै