सोलुखुम्बुमा निशुल्क महिला ट्रेकिङ गाइड तालिम सफलतापूर्वक सम्पन्न – Sagarmathapana:: Online News Portal

सोलुखुम्बुमा निशुल्क महिला ट्रेकिङ गाइड तालिम सफलतापूर्वक सम्पन्न

   २०८२ मंसिर २१ गते  

सोलुखुम्बु।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले सोलुखुम्बुको गार्मामा सञ्चालन गरेको निशुल्क महिला ट्रेकिङ गाइड तालिम मंसिर २ देखि १६ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। महिला क्षमता विकास, आत्मनिर्भरता, नेतृत्व वृद्धि तथा साहसिक पर्यटन क्षेत्रमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिम संयोजक डोल्मा लामाका अनुसार सोलुखुम्बु, संखुवासभा, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, लमजुङ, डोल्पा, झापा र गोरखा जिल्लाबाट २८ जना महिलाहरू सहभागी भएका थिए। सोलुखुम्बुमा पहिलोपटक सञ्चालन गरिएको यो आवासीय तालिमले स्थानीय क्षेत्रमा महिला कौशल विकासका नयाँ अवसर सिर्जना गरेको बताइन्छ।

 

१५ कार्यदिने तालिमको उद्घाटन सोलुखुम्बुका जिल्ला समन्वय अधिकारी चन्द्रसिहं श्रेष्ठ, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा, वडा नं. ७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य भलाकाजी कार्कीलगायतको उपस्थितिमा सम्पन्न भएको थियो। सहभागी अतिथिहरुले गार्मामा प्रतिष्ठानका गतिविधिहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा त्रिभुवन विश्वविद्यालयसँग सहकार्यमा Bachelor in Mountaineering Studies ,Master of Adventure Tourism Studies (MATS) र MSc in Mountain and Mountaineering Science (MSc MMS) लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।त्यस्तै, ट्रेकिङ गाइड, स्कि गाइड, माउन्टेन बाइक गाइड, क्लाइम्बिङ सपोर्ट गाइड, पोर्टर गाइड सहितका सीपमूलक तालिमहरू पनि नियमितरूपमा प्रदान गर्दै आएको कार्यकारी निर्देशक अनिल किरातीले बताए।

उनका अनुसार गार्मामा भएको यो तालिम विशेष रूपमा सोलुखुम्बुका महिलाहरूलाई लक्षित गरेर सुरु गरिएको भए पनि पर्याप्त संख्या नपुगेपछि अन्य जिल्लाबाट पनि सहभागी समावेश गरिएको थियो। किरातीले आगामी दिनमा यस्ता कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहसँग अझ सशक्त समन्वय र सहयोग आवश्यक रहेको उल्लेख गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै