बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गर्नुभएको हो ।
राजीनामा घोषणा गर्दै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘‘उहाँले पहिलो र दोस्रो मिलेर सरकार बनाउने अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउन सक्दैन त्यसैले नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने निर्णयमा पुगेका हौँ ।’’
मुख्यमन्त्री जम्कट्टेलले अल्पमतमा परेपछि प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न पेस गर्नुभएको प्रस्ताव अगाडि बढाउने कार्यतालिका रहेकामा उहाँले मार्ग प्रशस्त गर्न भन्दै राजीनामा घोषणा गर्नुभएको थियो ।
सरकारलाई दिएको समर्थन नेकपा (एमाले)ले गत असार २४ गते फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।
संविधान संशोधन सहज विषय नभएको र देशले स्वीकार नगर्ने बताउँदै उहाँले निर्वाचन प्रणाली परिवर्तन गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभयो ।
उहाँले आफू नेतृत्वको सरकारले प्रादेशिक सडक गुरु योजना निर्माण, कृषि क्षेत्रमा नयाँ मोडल ल्याउने क्रममा व्यक्तिलाई नभएर समुदायमा आधारित अनुदान प्रणालीमा जाने, गृहिणी महिला उद्यमशीलतासम्बन्धी कार्यक्रमलगायतका महत्त्वपूर्ण कार्य भएको बताउँदै उच्च शिक्षा प्रदेशको एकल अधिकार भएकोले कार्यान्वयनमा जाने प्रयास भएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता जम्कट्टेल २०७९ पुस २५ गते एमाले, राप्रपालगायतका दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा घोषणा लगत्तै आजै प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिने हुनुभएको छ ।
मुख्यमन्त्रीको राजीनामा स्वीकृतिपछि दलहरुलाई सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुहुने भएको छ ।












