प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणबारे जसपा अध्यक्ष यादवको टिप्पणी
काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे प्रतिक्रिया दिएका छन्।
नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा यादवले भारतले प्रधानमन्त्री ओलीलाई बिहारको बोधगया आमन्त्रित गरेको सुनेको बताए। उनले व्यंग्य गर्दै भने, “अयोध्या गए हुन्थ्यो, कहाँ अयोध्या छ भन्ने थाहा हुन्थ्यो नि त। चितवनमा अयोध्या हो कि अयोध्यामा अयोध्या हो भन्ने कुरा थाहा हुन्थ्यो नि। बोधगयामा बोलाउनुको सांकेतिक अर्थ छ। बुद्ध भनेको ज्ञान हो, नलेज हो। बोधगयामा ज्ञानप्राप्त होस् भन्ने सन्देश पनि छ।”
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भारतले पछिल्लो ७९ वर्षमा हासिल गरेको उल्लेख्य प्रगतिलाई प्रशंसा गर्दै भारतीय प्रधानमन्त्री र जनतालाई शुभकामना दिएका छन्। उनले भने, “एउटा पिछडिएको देश आज संसारकै शक्तिशाली अर्थतन्त्रको रुपमा उदय भएको छ। भारतले अझै उन्नति गरोस्, समृद्ध र खुशियाली जनताको देश बनोस्।”
त्यसैगरी, उनले नेपालमा अहिले नाममात्रको संघीयता रहेको भन्दै यसमा सुधार आवश्यक रहेको टिप्पणी गरे। “संघीयता नेपालको लागि आवश्यकता हो तर अहिलेको संघीयतामा व्यापक सुधार आवश्यक छ,” यादवको भनाइ छ।












