दुई प्याकेजमार्फत नयाँ राहदानी छपाइको प्रक्रिया सुरु – Sagarmathapana:: Online News Portal

दुई प्याकेजमार्फत नयाँ राहदानी छपाइको प्रक्रिया सुरु

   २०८२ श्रावण १५ गते  

काठमाडौँ।राहदानी विभागले दुई नयाँ प्याकेजमार्फत कुल ६४ लाख नयाँ राहदानी छपाइको तयारी अघि बढाएको छ। प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमार्फत छनोट गरिएका दुई जर्मन कम्पनीलाई राहदानी छपाइको जिम्मा दिइएको हो।

प्याकेज १ अन्तर्गत जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिस लाई एक अर्ब ५५ करोड रुपैयाँमा प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का दिइएको छ।

त्यस्तै, प्याकेज २ अन्तर्गतको राहदानी छपाइको ठेक्का जर्मनीकै भेरिडास कम्पनी लाई छ अर्ब ११ करोड रुपैयाँमा दिइएको हो।

राहदानी विभागका महानिर्देशक तीर्थ अर्यालका अनुसार, पहिलेको ठेक्का अवधि सकिएकोले नयाँ राहदानी छपाइको लागि प्रक्रिया अघि बढाइएको हो। यद्यपि, हाल काम गर्दै आएको कम्पनीले ठेक्का नपाएपछि विवाद र पुनरवलोकनको अवस्था सिर्जना भएको विभागले जनाएको छ।

सन् २०२० मा छानिएको कम्पनी आइडिमिया ले ५० लाखभन्दा बढी राहदानी छापिसकेको थियो। तर, अब मौज्दात राहदानी सीमित मात्र बाँकी रहेकाले छिटो राहदानी छपाइ आवश्यक भएको विभागको भनाइ छ।

सम्झौता अनुसार, छानिएका कम्पनीहरूले सम्झौता भएको मितिबाट २१० दिनभित्र राहदानी छपाइ गरी विभागलाई हस्तान्तरण गर्नुपर्नेछ।

प्याकेज २ अन्तर्गतको सम्झौता भेरिडास कम्पनीसँग भइसकेको र प्याकेज १ अन्तर्गतको सम्झौता छिट्टै हुने तयारीमा रहेको विभागले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै