गलेश्वर मन्दिरमा श्रावण सोमबारको विशेष चहलपहल,श्रद्धालुहरू आस्थासहित पूजा अर्चनामा तल्लीन
म्याग्दी–म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा श्रावण महिनाको सोमबारका अवसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। कालीगण्डकी नदीको किनारमा रहेको यो धार्मिक स्थलमा बिहानैदेखि दर्शनार्थीहरूको आगमन सुरु भएको हो।

साउन महिनाका सोमबारलाई भगवान् शिवको विशेष दिन मानिन्छ, र गलेश्वर मन्दिर शिवजीकै पवित्र धामका रूपमा परिचित छ। नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि अवस्थित यस मन्दिरमा श्रावण सोमबारको दिन पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास श्रद्धालुहरूमा गहिरो रूपमा रहेको छ।
आजको दिन विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूले बेलपत्र, दूध, फूल, र अक्षता अर्पण गर्दै शिवलिंगको पूजा गरेका थिए। मन्दिर परिसरभित्र पूजाआजा, अभिषेक र मन्त्रपाठमा भक्तजनहरू व्यस्त देखिन्थे।
स्थानीय प्रशासन र गलेश्वर धर्मशालाले भक्तजनहरूको सुविधाका लागि अतिरिक्त सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका थिए। स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मास्क र स्यानिटाइजरको प्रयोगमा समेत जोड दिइएको थियो।
गलेश्वर मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। कालीगण्डकी किनारको रमणीय वातावरण र शान्त परिसरले भक्तजनहरूको मन लोभ्याउने गर्दछ।












