राम नाम सत्य”: सुनिल थापा नदेखिएको अवतारमा ‘सरप्राइज’ तयारी, विराज–सुशिल जोडी फेरि पर्दामा – Sagarmathapana:: Online News Portal

राम नाम सत्य”: सुनिल थापा नदेखिएको अवतारमा ‘सरप्राइज’ तयारी, विराज–सुशिल जोडी फेरि पर्दामा

   २०८२ असार ८ गते  

काठमाडौँ–बहुप्रतिक्षित नेपाली फिल्म ‘राम नाम सत्य’ साउनको अन्तिम साताबाट छायांकनमा जान तयारी अवस्थामा छ, र यसको प्रि–प्रोडक्सन धमाधम अघि बढिरहेको छ।

यसपटकको मुख्य आकर्षण भने सुनिल थापाको अचम्मको अवतार हुने पक्का भएको छ। दशकौँदेखि विभिन्न भूमिकामा देखिँदै आएका थापालाई निर्देशक माइकल चन्दले “एकदमै फरक गेटअप” मा प्रस्तुत गर्न लागेका छन्। निर्देशक भन्छन्,

“सुनिल दाइलाई दर्शकले यति फरक अवतारमा अहिलेसम्म देखेका छैनन्, यो सरप्राइज सबैलाई रमाइलो लाग्नेछ।”

फिल्ममा विराज भट्ट र सुशिल श्रेष्ठ नायकको रूपमा देखिनेछन् भने, दिव्या रायमाझी र सुपुष्पा भट्ट मुख्य नायिकाको रूपमा अभिनय गर्दैछन्।

फिल्मको कथा लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स मिसिएको शैलीमा तयार पारिने निर्देशक चन्द बताउँछन्। सुशिल श्रेष्ठ ‘परिवर्तन’ फिल्मको सेटबाट फर्किएपछि कलाकारहरूको वर्कशप सुरु गरिने पनि उनले जानकारी दिए।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्ममा लगानीकर्ता उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ रहनेछन्। कार्यकारी निर्मातामा डाक्टर डी.आर. उपाध्याय, टी.आर. गौडेल र नरेन्द्र शाह छन्।

फिल्मको डीओपी महेश पौडेल रहनेछन् भने, दक्षिण भारतका एक्सन निर्देशकसँग पनि सहकार्य हुने संकेत निर्देशकले दिएका छन्।

सुनिल थापाको नयाँ लुक्स कस्तो होला? विराज र सुशिलको जोडीले कस्तो केमेस्ट्री देखाउने? अनि फिल्मको एक्सन र सस्पेन्स कतिसम्म सशक्त होला भन्ने चासो चुलिँदैछ।

फिल्मप्रति उत्साह बढ्दो छ, र अब हेर्न बाँकी छ – के ‘राम नाम सत्य’ नेपाली सिनेमामा नयाँ मापदण्ड बनाउनेछ?

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै