युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको एनआरएनए जापान सदस्य पदमा उम्मेद्वारी
काठमाडौँ। विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यावसायी ज्योति केसीले आउँदै गरेको एनआरएनए जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिएका छन् । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका ज्योतिले सन् (२०१७–२०१९ ) मा गैर आवासीय नेपाली संघ (एनआरएनए) कियुस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गरेका थिए ।
सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने रक्तदान कार्यक्रममा पनि उनको राम्रो योगदान छ । उनले लायन्स क्लव अन्तर्गतकै निकै महत्वपूर्ण मानिने प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो र टीयू ब्लड ट्रान्सफ्युजन एण्ड रिसर्च सेन्टरमा समेत ठूलो रकम डोनेशन गरेका थिए । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार्यक्रम सम्पादकको रूपमा काम गरेका ज्योति के.सी. आफ्नै जीवनसाथीको सल्लाहमा १ दशक अगाडि विधार्थी भिसामा जापान पुगेका थिए ।
मदाने गाउँपालिका भनभने गुल्मीमा जन्मिएका ज्योति जापान पुगेर निर्धारित अध्ययन पश्चात् आफ्नै रेष्टुरेण्ट व्यावसायमा होमिएका थिए । केसी कम्पनी प्रालिका सिइओ हुन । ज्योति केसी अहिले जापानको फुकुओका शहरको निकै चर्चित र जापानभरि परिचित नाम हो ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा उदाउँदा ज्योतिले जापानका अलावा नेपाल र भारतमा समेत आफ्नो व्यवसाय विस्तार गरेका छन् । अत्यन्तै मृदुभाषी, सहयोगी, उदार र प्रभावशाली व्यक्तित्व ज्योतिका वैयक्तिक विशेषता हुन् ।
कुनै नेपाली सांस्कृतिक कार्यक्रम होस् या कोही नेपालीलाई कष्ट पर्दा होस् उनी सक्रिय रूपमा लाग्दछन् । आफ्नो अगाडि पर्ने जो कसैलाई पनि सकारात्मक प्रभाव पार्न सक्ने ज्योतिले विगतमा लगभग ५ वर्ष जति नेपालमा भिडिओ सम्पादकका रूपमा काम गरेका थिए भने उनको नेपाली सिने जगतका धेरै कलाकार र गायक गायिकाहरुसँग निकट सम्बन्ध रहेको छ । अधिकांश गायक कलाकारहरु फुकुओका पुग्दा सक्दो स्वागत र सत्कार गर्ने ज्योतिमा परि आउँदा सिङ्गो एनआरएनए जापान हाँक्न सक्ने खुबी छ ।












