चितवनमा दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु
काठमाडौँ।चितवनमा दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ। अमेरिका, नर्वे, भारत र नेपाललगायत विभिन्न देशका विशेषज्ञको सहभागितामा भरतपुरमा सुरु भएको सम्मेलनको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गरिन्।
उद्घाटन समारोहमा मेयर दाहालले भरतपुर ‘मेडिकल सिटी’ भए पनि मानसिक स्वास्थ्य सेवामा कमी रहेको बताउँदै मानसिक अस्पताल निर्माणको साझा संकल्प गर्नुपर्ने धारणा राखिन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित स्रोतमा मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै समुदायस्तरमा अझै सेवा पुग्न नसकेको बताए।
कार्यक्रमका अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि योगदान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। संयोजक डा. श्रीधर पौडेलले मानसिक रोग विश्वव्यापी समस्या भएको उल्लेख गर्दै सम्मेलनले नेपालका मानसिक स्वास्थ्य चुनौती समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे।












