मलेसिया सरकारले आप्रवासी कामदारको नयाँ कोटा नखुलाउने – Sagarmathapana:: Online News Portal

मलेसिया सरकारले आप्रवासी कामदारको नयाँ कोटा नखुलाउने

   २०८१ कार्तिक २५ गते  

काठमाडौं । मलेसियाले गत सेप्टेम्बरदेखि नयाँ कोटा जारी गर्न स्थगित गरेको छ ।मलेसिया सरकारले आप्रवासी कामदारको नयाँ कोटा नखुलाउने जनाएको छ । त्यहाँका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइले नयाँ विदेशी कामदार कोटा हाललाई स्थगित नै रहेको बताएका छन् ।

मलेसिया सरकारले विशेषगरी पाम तेल र रबर उद्योगहरुमा कामदार उपलब्ध गराउनको लागि आवश्यक तयारी गरिरहेको बताइन्छ । मलेसियाको नयाँ कामदारको कोटा नखुलाउने नीतिले भने नेपाली कामदार प्रभावित हुने देखिएको छ ।

मलेसियाको अर्थ मन्त्रालयले डिसेम्बरसम्मको लागि २५ लाख विदेशी कामदारको सीमा तोकेकोले अब ९० हजार मात्र विदेशी कामदारको कोटा बाँकी रहेका कारण नयाँ कोटा नखुलाउने गृहमन्त्री इस्माइलले स्पष्ट पारेको त्यहाँको सञ्चारमाध्यम मलेमेलले जनाएको छ । इस्माइलले हालसम्म, मलेसियामा २४ लाख विदेशी कामदार भर्ना भएको उल्लेख गरेका छन् ।

सञ्चार माध्यमका अनुसार गृहमन्त्री इस्माइलले सेप्टेम्बरदेखि नै कुनै पनि नयाँ कामदारको आवेदन नलिएको भन्दै कृषि, बगान, निर्माण, र सेवा क्षेत्रहरूमा माग पुनः मूल्यांकन गर्न त्रैमासिक समीक्षा गर्ने तयारी गरेका छन् । तर रोजगारीका क्षेत्रमध्ये कृषि र बगानहरुमा कामदारको अभाव भइरहेको पनि गृहमन्त्री इस्माइलले बताएका छन् ।

कृषि मन्त्री जोहरी अब्दुल घानीले पहिलेदेखि नै उल्लेखित क्षेत्रका लागि विदेशी कामदारको अभाव रहेको भन्दै त्यसका लागि पुनर्विचार गर्न आग्रह गर्दै आएको बताइएको छ । यसमा गृह मन्त्रालय र मानव संशाधन मन्त्रालय सकारात्मक रहेकोले बाँकी रहेका ९० हजार विदेशी कामदारलाई कृषि र बगानहरुमा रोजगारी दिन सकिने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै