SAFF सेमिफाइनलमा तनावपूर्ण माहोल भएपछि खेल अवरुद्ध
काठमाडौँ :दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपअन्तर्गत नेपाल र भारतबीच दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा तनावपूर्ण माहोल भएपछि खेल अवरुद्ध भएको छ।
पहिलो हाफदेखि नै भारतीय खेलाडीमाथि नेपालले दबाब बनाएको थियो। दोस्रो हाफमा नेपालकी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडेपछि दर्शकले मैदानमा पानीका बोतल फालेका थिए। रंगशालामा करिब १६ हजार दर्शकले खेल हेरिरहेका छन्।
यसपछि करिब १५ मिनेट खेल अवरुद्ध भयो। रेखा मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो।
गोल खाएको एक मिनेटपछि नेपालले गोल फर्काए पनि रेफ्रिीले मान्यता नदिएकाले खेल तनावग्रस्त बन्न पुग्यो। भारतीय टोलीले गोल गरेको खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु गरेपछि नेपालले गोल फर्काएको थियो।
तर भुटानी रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि तनाव उत्पन्न भयो र खेल अवरुद्ध हुन पुग्यो।
तर रेफरीले पहिलो हाफमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले भारतीय गोलपोष्टमा बल लगिरहेका वेला भारतीय खेलाडीको ह्याण्ड भए पनि दिएकी थिइनन्।












