EN
मेनु
Flash News

एन्फाको निलम्बन फुकुवा हुने बाटो खुल्यो,फिफासँग सकारात्मक सहमति

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा हुने प्रक्रिया अघि बढेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग गरेको भेटवार्तापछि निलम्बन फुकुवाको वातावरण बनेको हो।

बैंककमा आयोजित एएफसी अवार्ड्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम तथा एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा नेपाली फुटबलको वर्तमान अवस्था र एन्फामाथिको निलम्बन फुकुवाका विषयमा छलफल भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ। एन्फाले पनि आवश्यक प्रक्रिया पूरा गर्दै तहगत निर्वाचन गर्ने सहमति जनाएपछि निलम्बन फुकुवाको बाटो सहज बनेको हो।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ। राखेपको निर्णयसँगै फिफाले समेत एन्फाको निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको मन्त्री पोखरेलले बताउनुभएको छ।

अब आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि फिफाबाट समेत औपचारिक रूपमा निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि र प्रतियोगितामा सहभागिताका लागि नयाँ सम्भावना खोल्ने देखिएको छ।