EN
मेनु
Flash News

एक्सन र प्रेमको संगम ‘मोहनी’, चितवनबाट सुरु भयो छायांकन

काठमाडौं।एक्सन र प्रेमकथालाई समेटेर निर्माण हुन लागेको नेपाली फिल्म ‘मोहनी’को छायांकन आजदेखि चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मलाई एक्सन लभस्टोरी विधामा तयार गर्न लागिएको हो।

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजय ब्लोन तामाङले जानकारी दिएका छन्। चितवनबाट सुरु भएको छायांकन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका विभिन्न रमणीय स्थानमा गरिने निर्माण पक्षले जनाएको छ।

निर्माता विजयका अनुसार कथाको मागअनुसार कलाकार छनोट गरी फिल्मको छायांकन सुरु गरिएको हो। दर्शकलाई उत्कृष्ट फिल्म दिने लक्ष्यसहित निर्माण टिमले काम गरिरहेको उनले बताए।

फिल्ममा आशीर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी र उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ। महेश पौडेलले छायांकन गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ। त्यस्तै, विक्रम स्वार र किरण थापाले नृत्य निर्देशनको जिम्मेवारी सम्हाल्नेछन्।

फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक तथा तेजबिक्रम केसी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।