EN
मेनु
Flash News

सिन्दुरे जात्रा’को टिजरमा प्रेम, धोका र पीडाको कथा

काठमाडौं।आगामी मंसिर १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने प्रस्तुत भएका छन्।

प्रेम, खुसी, विश्वासघात र पीडालाई केन्द्रमा राखेर तयार पारिएको टिजरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ। मौलिक नेपाली परम्परा र संस्कृतिको झल्को दिँदै सुरु हुने टिजरमा सुरुवातमा विजय बराल र अञ्जना बराइलीबीचको प्रेम, विवाह र सुखद सम्बन्ध देखाइएको छ।

तर, कथाले क्रमशः नयाँ मोड लिन्छ। द्वन्द्व सिर्जना गर्ने पात्रका रूपमा विनोद न्यौपानेको प्रवेशसँगै प्रेम सम्बन्धमा दरार उत्पन्न हुन्छ। त्यसपछि विजयको वियोगपूर्ण अवस्था र अञ्जनाले सामना गर्नुपरेको धोका तथा पीडालाई टिजरमा प्रस्तुत गरिएको छ।

टिजरले प्रेम र सम्बन्धभित्र आउने उतारचढावसँगै विश्वासघातले निम्त्याउने पीडालाई चलचित्रको मुख्य आकर्षणका रूपमा देखाएको छ। मौलिक संस्कृति र प्रेमकथाको संयोजन रहेको ‘सिन्दुरे जात्रा’प्रति टिजर सार्वजनिक भएसँगै दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।