EN
मेनु
Flash News

ग्राण्डी अस्पतालमा अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६ मनाइयो

काठमाडौँ।काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्याथोलोजी विज्ञानको महत्व, रोगको सही पहिचान तथा उपचार प्रक्रियामा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार अस्पताल परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

‘पर्सनलाइज्ड मेडिसिनको युगमा प्याथोलोजी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले सीमित स्रोतसाधन र उपकरणका बाबजुद पनि अस्पतालले बिरामीलाई गुणस्तरीय तथा समयमै सही निदान सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले प्रयोगशालाबाट प्राप्त हुने गलत रिपोर्टले बिरामीको ज्यानसमेत जोखिममा पार्न सक्ने भएकाले परीक्षण र रिपोर्टिङमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै, उत्कृष्ट र सराहनीय कार्यमार्फत चिकित्सक तथा बिरामीलाई सहजता प्रदान गर्दै आएको प्याथोलोजी विभागका सम्पूर्ण जनशक्तिप्रति आभार व्यक्त गर्नुभयो ।

आगामी दिनमा अझ त्रुटिरहित, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पतालकी रजिष्ट्रार तथा प्याथोलोजिस्ट डा. अलिना अवालेले आधुनिक स्वास्थ्य सेवामा प्याथोलोजीको बढ्दो महत्वबारे प्रकाश पार्नुभयो । उहाँले रोगको सही पहिचान, प्रयोगशाला परीक्षण र बिरामीको स्वास्थ्य अवस्थाअनुसार प्रभावकारी उपचार पद्धति विकास गर्न प्याथोलोजीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । साथै, अस्पतालको प्याथोलोजी प्रयोगशालाबाट उपलब्ध हुँदै आएका सेवाबारे जानकारी गराउनुभयो ।

त्यसैगरी, अस्पतालकी ल्याब म्यानेजर डा. शैला राणाले प्याथोलोजी चिकित्सा विज्ञानको महत्वपूर्ण विधा भएको उल्लेख गर्नुभयो । रगत, पिसाब, तन्तु तथा शरीरका अन्य नमुनाको परीक्षणमार्फत विभिन्न रोग पहिचान गर्न प्याथोलोजीले चिकित्सकलाई महत्वपूर्ण सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।

प्याथोलोजीले विशेषगरी क्यान्सर, संक्रमणलगायत विभिन्न जटिल रोगको निदान तथा उपचारको प्रभावकारिता मूल्याङ्कनमा महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन् ।

व्यक्तिको स्वास्थ्य अवस्था, रोगको प्रकृति र आवश्यकताअनुसार उपचार गर्ने व्यक्तिगत चिकित्सा पद्धति (पर्सनलाइज्ड मेडिसिन) को विकाससँगै प्याथोलोजीको महत्व थप बढ्दै गएको उनीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताहका अवसरमा आयोजित कार्यक्रमले स्वास्थ्य सेवामा प्रयोगशाला विज्ञानको योगदान, रोगको समयमै पहिचान र सही निदानको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ ।