EN
मेनु
Flash News

ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि विश्व बैंकसँग सहकार्य बढाउन मन्त्री श्रेष्ठको जोड

काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।

मन्त्रालयमा विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग भएको उच्चस्तरीय भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

भेटका क्रममा उनले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित प्राकृतिक विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बताए।

त्यस्तै, बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसम अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्याङ्कन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो।

नेपालको बढ्दो विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत तथा क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्री श्रेष्ठले उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारमा पनि समान प्राथमिकताका साथ लगानी विस्तार गर्नुपर्ने उल्लेख गर्दै ग्रिडका अवरोध हटाएर विद्युत् प्रणालीलाई थप विश्वसनीय बनाउनुपर्ने बताए।

ऊर्जा सुरक्षाका लागि जलविद्युत्मा मात्र निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको सन्तुलित विकास, ऊर्जा भण्डारण र रणनीतिक ऊर्जा मिश्रण आवश्यक रहेको विषय पनि उनले उठाएका थिए।

भेटवार्तामा विकास साझेदारसँग भइरहेका विभिन्न सहकार्यलाई एकीकृत गरी स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारी, वित्तीय तथा प्राविधिक सहयोग र समयसीमासहितको समन्वय संयन्त्र निर्माण गर्ने मन्त्रालयको योजनाबारे पनि जानकारी गराइएको थियो।

आगामी दिनमा विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आर्थिक र सञ्चालनगत स्थायित्वलाई सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ।