EN
मेनु
Flash News

नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंक बन्यो नबिल,सरकारद्वारा सम्मानित

काठमाडौं।नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत नेपाल सरकारले बैंकलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकलाई सम्मानपत्र प्रदान गरेका हुन्। बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले उक्त सम्मान ग्रहण गरेका थिए।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर दाखिला गरेको जनाएको छ।

सम्मान ग्रहणपछि अध्यक्ष चौधरीले यो उपलब्धि नबिल बैंक परिवारका लागि गौरवको विषय भएको बताए। उनले बैंकका कर्मचारीको मेहनत र ग्राहकले देखाएको विश्वासका कारण यस्तो उपलब्धि हासिल भएको उल्लेख गरे।

उनले करदाताका रूपमा आफ्नो दायित्वलाई बैंकले सधैँ गम्भीरतापूर्वक लिँदै आएको बताउँदै उत्कृष्ट ग्राहक सेवा, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए।

नबिल बैंकले व्यावसायिक सफलतासँगै मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यलाई प्राथमिकतामा राख्दै आएको छ। पारदर्शिता, जिम्मेवार बैंकिङ अभ्यास र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार बनाएको बैंकले जनाएको छ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिलले पछिल्लो समय डिजिटल बैंकिङ र नवीन प्रविधिमा समेत लगानी विस्तार गर्दै आएको छ। डिजिटल सेवा विस्तार गर्ने उद्देश्यले बैंकले एनबैंक सञ्चालनमा ल्याएको छ।

हाल बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ। नबिल बैंकले नवौँ पटक प्राप्त गरेको यो सम्मानले बैंकको राजस्व योगदान र जिम्मेवार व्यावसायिक अभ्यासलाई थप उजागर गरेको छ।