EN
मेनु
Flash News

विराटनगरमा राति २ बजेसम्म क्लब खोल्न पाइने, १० बजेपछि व्यवसाय सञ्चालनमा अनुमति अनिवार्य

विराटनगर।विराटनगरको रात्रिकालीन बजारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आज (मंसिर १ गते मंगलबार) देखि नयाँ मापदण्ड लागू भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ अनुसार राति १० बजेपछि सञ्चालन हुने होटल तथा व्यवसायले अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार राति १० बजेपछि व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीले सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्। प्रशासनको अनुगमन समितिले स्थलगत निरीक्षण गरी मापदण्ड पूरा भएको सुनिश्चित गरेपछि मात्रै सञ्चालन अनुमति प्रदान गर्नेछ।

नयाँ व्यवस्थाअनुसार रेस्टुरेन्ट, खाना तथा खाजा पसल, दोहोरी र गजल राति १२ बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै, पब, क्लब तथा डिस्को भने राति २ बजेसम्म खुला राख्न सकिनेछ। यो व्यवस्था विराटनगर महानगरपालिकाभित्र केशलिया र सिंघिया खोलादेखि स्वागत गेट हुँदै रानीसम्मको क्षेत्रमा लागू हुनेछ।

मापदण्डअनुसार राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले अनिवार्य परिचयपत्र साथमा राख्नुपर्नेछ। मदिरा सेवन गरेका ग्राहकलाई व्यवसायीले सशुल्क सुरक्षित यातायात अर्थात् ड्रप सेवाको व्यवस्था मिलाउनुपर्नेछ। क्लब राति २ बजेसम्म सञ्चालन गर्न पाइने भए पनि शुक्रबार राति १ बजे र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। १८ वर्षमुनिका व्यक्तिलाई क्लब तथा सम्बन्धित मनोरञ्जन स्थलमा प्रवेश निषेध गरिएको छ।

यौनजन्य दुर्व्यवहार तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा भित्रबाट चुकुल लगाउन नपाइने व्यवस्था पनि गरिएको छ।

व्यवसायीले श्रमिकलाई बैंकिङ प्रणालीमार्फत तलब भुक्तानी गर्नुपर्नेछ। साथै, रातिको खाना, घरसम्म पुर्‍याउने यातायात र महिला श्रमिकका लागि स्तनपान कक्षको व्यवस्था अनिवार्य गरिएको छ।

त्यसैगरी, व्यवसायस्थल साउन्ड प्रुफ हुनुपर्ने, वरपर १०० मिटर क्षेत्रसम्म पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्ने र कम्तीमा ३० दिनसम्मको रेकर्ड सुरक्षित रहने सीसीटीभी जडान गर्नुपर्ने मापदण्ड तोकिएको छ।

प्रशासनले नयाँ मापदण्ड उल्लंघन गर्ने व्यवसायको सञ्चालन अनुमति तत्काल खारेज गरी आवश्यक कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नयाँ व्यवस्थाले विराटनगरको रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित बनाउनुका साथै ग्राहक, श्रमिक र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।